रौतहट १० फागुन ।नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुटको रौतहटमा सुरुवात भएको छ ।
नेकपा (एमाले) कोे पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ फागुन ५ गतेदेखि देशभर एकसाथ शुरू भएको थियो ।
कार्यक्रमको सुरुवात गर्दै पार्टीका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोतम पौडेलले पार्टीलाई वैचारिक र संगठनात्मकरूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न यो विशेष अभियानको आवश्यकता बोध गरेर पार्टीले यो अभियान चलाएको बताए ।
उनले पार्टीको संगठनात्मक जीवनमा देखापरेका अस्तव्यस्तता र अराजकताका कारण कमिटीगत परिचालनमा समस्या देखापरेका र निर्वाचनका सिलसिलामा विभिन्न गलत प्रवृत्ति प्रकट भएका कारण पार्टीले कैयौं महत्वपूर्ण स्थानहरू गुमाउनुपरेको हुँदा यस्ता समस्याको समाधान गर्ने अभियानको एक प्रमुख उद्देश्य रहेको प्रष्ट पारेका छन ।
यो अभियानभरी रौतहटमा पार्टीमा रहेका कमी कमजोरीलाई हटाउँदै पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने उद्घोष नेता पौडेलले बताए ।
पार्टीका रौतहट जिल्ला संयोजक सचिदानन्दन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु गंगा राय यादव, कल्पना कटुवाल, प्रभु हजारा, मञ्जु थापा लगायत मधेश प्रदेश तथा जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।