रौतहट ५ माघ / एक गैरसरकारी संस्थाले दातृ निकायको सहयोग अनियमितता गर्न हैण्डपाइप (चापाकल) जडानको नाममा सर्वसाधारणसंग रकम असुली गरिरहेको खुल्न आएको छ ।
इनार नविर मोहसेन अल महरी नामक संस्थाले निःशुल्क रुपमा हैण्डपाइप जडान गर्नुपर्नेमा प्रति व्यक्ति २ हजारदेखि लिएर १८ हजारसम्म रकम असुली गरिरहेको खुलेको छ ।
अति गरिब एवं विपन्न नागरिकलाई शुद्धपानी खुवाउने उद्देश्यले साउदी अरब,फ्रान्स लगायत विभिन्न देशहरुले नेपालका केही गैरसरकारी संस्थालाई निःशुल्क रुपमा २ सयदेखि लिएर ३ सय फिटसम्म हैण्डपाइप (कल) जडान गर्न रकम सहयोग गरेको थिय ।
रौतहटको संस्था इनार नविर मोहसेन अल महरी ले २ सय देखि लिएर ३ सय फिटसम्म हैण्डपाइप निःशुल्क रुपमा जडान गर्न विदेशी दातृ निकायबाट अनुदान रकम पाएको थियो ।
अनुदान पाउने संस्थाका अध्यक्ष परोहा नगरपालिका –२ जिंगडवा बेलबिछवाका ३५ वर्षीय मोहम्मद गुरफान आलमले २५ देखि ५० फिटसम्म मात्र हैण्डपाइप गाडेर प्रति व्यक्ति २ हजार देखि लिइ १८ हजारसम्म रकम असुली गरिरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।
संस्थाले जिल्लाको परोहा, राजपु्र, इशनाथ, बौधिमाई लगायत नगरपालिकाको सयौं सर्वसाधारणसंग हैण्डपाइप जडानको नाममा रकम असुली गरि रकम ठगी गरेको गुनासो छ ।
राजपु्र नगरपालिका २ फतुवा महेशपुरका शेख रहमानले दातृ निकायको सहयोगमा निःशुल्क पानी खानको लागि हैण्डपाइप जडान गर्दा संस्थाले रकम उठाएर सर्वसाधारणलाई ठगी गरेको गुनासो गरेका छन ।
उनले भने, ‘ हैण्डपाइप जडान गर्न संस्थाले विदेशी दातृ निकायबाट रकम पाएका हुन्छन तर यिनीहरूले आफ्नो व्यक्तिगत लाभ उठाउने गर्छन ।
संस्थाले रौतहटका साथै बारा र सर्लाही जिल्लामा कार्यक्रम संचालन गर्दै आएको छ ।