रौतहट २ माघ । फतुवाविजयपुर नगरपालिका–१ स्थित श्रीदलित प्राविमा पढ्ने विद्यार्थी हरेक दिन विद्यालय जाँदा ओछ्याउने बोरा बोकेर जान्छन ।
विद्यालयको नाममा सानो फुसको झुपडी छ । विद्यार्थी बाहिरै चौरमा खुला स्थानमा बोरा ओछ्याएर पढ्छन् ।
करिव २ सयको हाराहारीमा विद्यार्थी रहेको यो विद्यालय २०६४ सालमा स्थापना भएको हो ।
बाल विकासका दुई शिक्षिकासहित ४ शिक्षक रहेको विद्यालयमा शिशुदेखि ५ कक्षासम्म पढाइन्छ ।
विद्यालयको आफ्नै भवन, कक्षाकोठा र डेक्सबेन्च छैन । फुसले छाएको चारैतिरबाट खुला एउटा झुपडी छ । अगाडि सानो चौर छ । विपन्न र दलित समुदायका बालबालिका बोरा ओछ्याएर पढ्दै गरेका देख्न सकिन्छ ।
विद्यालयमा खानेपानी र शौचालय पनि छैन। कक्षा अनुसार छुट्टाछुट्टै समूह बनाएर चौरमा कक्षा संचालन हुन्छ ।
चक डस्टर, कालोपाटी नहुँदा पढाउन समस्या हुँदै आएको शिक्षक हीरालाल यादवले दुखेसो पोखे ।
बिधालयको अवस्थाको बारेमा पटकपटक नगरपालिका संग माग गर्दा सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजाराले बताए ।
दिवा खाजाको रकम पठाए पनि राख्ने र पकाउने ठाउँ अभावले खुवाउन नसकेको उनले बताए ।
‘बाध्य भएर विद्यार्थीलाई चाउचाउ र बिस्कुट दिने गरेकाे प्रधानाध्यापक राजेन्द्र हजाराले बताए ।
नगरपालिकाका शिक्षा संयोजक तेजनारायण यादवले तत्काल भवन नबनुन्जेल घर भाडामा लिएर भए पनि उक्त विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘
भाडाको घर लिएर विद्यालय खुलाउने तयारी भइरहेको संयोजक यादवले बताए ।
नगर पालिकाकी उपप्रमुख अमवेय खातुनले सो विद्यालय संचालनको लागि छलफल भइरहेको बताइन् ।
रौतहट जिल्लाका १८ वटा पालिकामा करीव ४ सय हाराहारीमा आधारभूतका सरकारी विद्यालय छन् ।
पालिकाले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्नेमा अधिकांशको अवस्था सुध्रन नसकेको जिल्ला शिक्षा इकाइ प्रमुख रामविनय सिंहले बताए ।