सर्लाही ,१७ पुष//
सर्लाहीमा ब्रोइलर कुखुरा बोकेको पिकअपको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । जिल्लाको हरिपुर नगरपालिका–२ निवासी ३५ वर्षीय चक्रेश्वर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार राती ८ बजेको समयमा मलंगवाबाट नवलपुरतर्फ आईरहेको प्रदेश २–०३–००१ च २३९६ नम्बरको बलेरो पिकअपले हरिपुर नगरपालिका–८ जगतपुर स्थित नवलपुर–मंलगवा सडकखण्डमा हिँडिरहेका साईकल यात्री चौधरीलाई पछाडीबाट ठक्कर दिंदा गम्भिर घाईते भएका थिए।
घाइते भएका चौधरीको प्रादेशिक अस्पताल मलंगवामा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि वीरगंजतर्फ लैजाने क्रममा शनिबार बिहान सबा १२ बजे बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
ठक्कर दिएर फरार गाडी र चालकलाई राती नै लालबन्दी नगरपालिका–१७ रानीगंज स्थित भित्री सडकखण्डबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।