रौतहट २१ पुस । जिल्लाका दुई पालिका केही समय देखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ ।
नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यी दुबै नगरपालिकाको कामकाज गर्न अधिकृत किरण निधि तिवारीलाई जिम्मेवारी तोकेको छ तर अधिकृत तिवारी दुबै पालिकामा काम गर्न असमर्थता देखाएकोले दुबै पालिका प्रशासकीय अधिकृत विहीन बनेको छ ।
जिल्लाको कटहरिया नगरपालिका र माधव नारायण नगरपालिका अहिले निमित्तको भरमा सञ्चालनमा रहेको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालसंग तिवारीको तालमेल नमिल्दा निमित्त दिएर कार्यालय गएका छैनन ।
सो पालिकामा लेखा अधिकृत राम प्रकाश साह निमित्तमा भए पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको हैसियतले कार्यालयको कामकाजी कागजपत्रमा हरिन्द्र यादवले हस्ताक्षर गर्ने गरेका छन् ।
निमित्त प्रमुख प्रसाशकीय अधिकृतको रुपमा काम गरिरहेका लेखा अधिकृत साहले नगरपालिकाको विशेष कामकाज प्रभावित भइरहेको बताउँदै निमित्तको हैसियतले गर्न सकिने कामकाज गरिरहेको जनाए ।
माधव नारायण नगरपालिकामा नगर प्रमुख बैद्यनाथ यादवको कारण निमित्तको रुपमा शाखा अधिकृत मिश्रीलाल साहले कामकाज गर्दै आएका छन् ।
लेखा शाखाबाट भुक्तानीको सक्कल फाइल गायब भएको विषय लिएर नगरपालिका भित्र कार्यरत कर्मचारीबीच अंतरद्वन्द्व उत्पन्न भएको कारण नगरपालिकाको कामकाज प्रभावित बनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालय स्थानीय तह कर्मचारी प्रशासन शाखाले अधिकृत सातौ मिश्रीलाल साहलाई २०७९ साल भाद्र २३ गतेमा मकवानपुर जिल्लाको थाहा नगरपालिकामा काज फिर्ता गरे पनि साह त्यहाँ नगइ माधव नारायण नगरपालिका मै बसेर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउन नगरप्रमुख यादव संग मिलेर चलखेल गरिरहेको स्रोतले जनाएको छ ।
नगरपालिकामा भएको रकम अनियमिततामा ठूलो भूमिका यादव र साहको समेत रहेकोले छानविन गर्नका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपाल सरकारले स्थानीय तहमा उपसचिव पठाउने भने पनि नपठाएको कारण पालिकाहरु निमित्तको भरमा सञ्चालन भइरहेको छ ।