मुकेश कुमार साह, रौतहट २१ पुस । रौतहटको गुजरा नगरपालिकामा राष्ट्रपति रनिङ माध्यमिक बिधालय स्तरीय प्रतियोगिता २०७९ सुरु भएको छ । स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका प्रतियोगिता सुरु भएको हो । बुधबारदेखि सुरु भएको प्रतियोगीता तीन दिन सम्म चल्ने छ । गुजरा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको सो प्रतियोगिताको उद्घाटन गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी र उपमेयर रत्नलामाले संयुक्त रुपमा गरेका थिए । मेयर चौधरीले शिक्षा अक्षरबाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलापबाट आर्जन गरिने शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने बताए । यस्तै कार्यक्रममा उपमेयर लामाले विद्यार्थीको क्षमता बृद्धिका लागि यस प्रकारका प्रतियोगिता अति आवश्यक रहेको बताए । कार्यक्रममा गुजरा नगरपालिकाका प्रशासकिय अधिकृत बिनोद जयसवालले आगमी दिनमा गुजरा नगरपालिकाबाट पनि खेलकुदमा राष्ट्रका गहनाका रुपमा खेलाडी तयार हुने विश्वास लिएको बताए ।
गुजरा वडा नम्बर ४ स्थित श्री कंकाली माध्यमिक बिधालयमा प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा नगरभरि रहेका ६ वटा माध्यमिक बिधालयका बिधार्थीहरू बिच प्रतियोगिता भइरहेको छ । राष्ट्रपति रनिङ मावि स्तरीय प्रतियोगितामा श्री कंकाली मावि जंगलसैया, श्री मावि कनकपुर, श्री मावि सिमराभवानीपुर, श्री जनप्रिय मावि मावि हरिनगर मैढा, श्री मावि रंगपुर, श्री मावि कटानीका बिधार्थीहरू सहभागी रहेको गुजरा नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवमंगल साहले जानकारी गराए । प्रतियोगितामा ६ वटा ईभेन्टको खेल हुने बताइएको छ । प्रतियोगितामा भलिबल, कबडी, हाई जम्प, लंग जम्प, दौड, सर्ट फुटको खेल हुने साहले जानकारी गराए। प्रतियोगिताको पहिलो दिन भलिबल र कबडी खेल भएको उनले बताए । संजय कुमार चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन मुरारी गिरीले गरेका थिए ।