फणि महत / चन्द्रपुर नगरपालिका वार्ड नं १ मा निर्माण भएको प्रथम शहिद लखन थापा सालिक नुनथर क्षेत्र घुम्न आउने हरुको लागि मुख्य आकर्षण बनेको छ ।
चन्द्रपुर नपा १ स्थित रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र नुनथरमा निर्माण गरिएको सालिकको मगर एकता दिवसको अवसरमा अनावरण गरिएको थियो ।
प्रथम सहिद लखन थापाको सालिक यस क्षेत्रमा निर्माण हुनुले पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने पुर्व वडा अध्यक्ष वीर बहादुर रखालले बताए ।
नेपालको प्रथम सहिद लखन थापाको शालिक स्थापनाले नुनथर लगाएत यस क्षेत्रको बिकाश र प्रचारमा टेवा पुग्ने नुनथर क्षेत्र बिकास समितिका अध्यक्ष राम कुमार भट्टराइको धारणा छ ।
नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो ।
जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र लखनको वास्तविक नाम लक्ष्मणसिंह थापा थियो ।
लखन थापाले तेश्रो गोरखा राइफल्समा कार्यरत नातेदारको फेमिली क्वार्टरमा बसेर भारतको अलमोडामा शिक्षा हासिल गरी नेपाल फर्किएर वि.सं. १९११ मा पुख्र्यौली मगर पल्टन (पुरानो गोरख पल्टन)मा भर्ना भएका थिए ।
ई.सं. १८५७ डिसेम्बर १० का दिन जंग बहादुर राणा स्वयम् २७ वटा नेपाली पल्टनको नेतृत्व गर्दै नौ हजार नेपाली सैनिकका साथ भारत गए ।
१० मार्चका दिन जंग बहादुर आफ्नो फौजसहित भारतको लखनउ शहर पुगेको भोलिपल्ट देखि नै अंग्रेज र नेपाली संयुक्त फौजले लखनउका विभिन्न स्थानमा फौजी कारवाही गर्यो ।
पुरानो गोरखा पल्टनसंगै लखनउ पुगेका लखन थापा मगर लगायत व्यक्तित्वहरु यस घटनाबाट स्तब्ध भए ।
लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपाली सेनाको क्याप्टेन भइसकेका थिए ।
उनले भौतिक सुविधाको कुनै प्रवाह नगरी वि.सं. १९२७ सालमा आफ्ना साथी जयसिंह चुमीलाई साथमा लिई घर विदा लेखाएर सेनाको जागिर छाडी गोरखाको बुंकोट काहुले भंगारमा गए ।
उनले जंग बहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित गर्ने कार्यमा लागे । गोरखाको वुंकोट काहुले भङ्गारमा लखन थापा मगरले स्थानीय को सहयोगमा एउटा बलियो किल्ला निर्माण गरे ।
वि.सं. १९३२ सालमा जंग बहादुरको शासनविरुद्ध जनताले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा गर्यो ।
वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।
लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गर्यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिद घोषणा गर्ने निर्णय गर्यो ।
शहिद लखन थापाको नाममा गोरखा जिल्ला साविकको बक्राङ्ग, मनकामना, ताकलुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स गाभेर शहिद लखन गाउँपालिका बनेको छ ।