रौतहट ९ माघ / कथाकार रेणुका जिसीको कथा संग्रह ‘सनेस’ शनिबार काठमाण्डौमा सार्वजनिक भएको छ ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उक्त कथा संग्रह विमोचन गरिएको हो ।
समालोचक तथा लेखक राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी, लेखिका जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा जिसीको कथा संग्रह सार्वजनिक गरेका हुन् ।
शिखा बुक्सले बजारमा ल्याएको उक्त संग्रहमाथि समालोचकद्वय बानियाँ र अधिकरीले विमर्श गरेका थिए ।
कृतिमाथि टिप्पणी गर्दै समीक्षक अधिकारीले पहाड र तराईका महिलाका विषय सुन्दर रुपमा कथामा आएको बताइन् ।
अर्का समालोचक बानियाँले कृतिमा उठाइएका केही घटना नयाँ रहेको र लेखकको प्रयास राम्रो रहेको बताए ।
‘सनेस’ मा तराई र पहाडी परिवेशमा लेखिएका १२ ओटा कथा रहेका छन् । रौतहट जिल्लाकी लेखिका जिसी शिक्षण पेशामा आबद्ध छिन् ।