रौतहट, २९ पुस । बिना इजाजत संचालनमा रहेका तीन वटा क्रसर उद्योग रौतहटमा बन्द गरिएको छ ।
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका बिभिन्न क्रसर उद्योगको अनुगमन गरेर बिनाइजाजत संचालनमा रहेका तीन वटा क्रसर उद्योग बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, घरेलु तथा साना उद्योग कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहटसहितको सरोकारवाला, कार्यालयका प्रमुख तथा निमित्त प्रमुखहरूले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरेपछि तीन उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको वृन्दावन ६ मा रहेको राम जानकी क्रसर उद्योग, गुजरा क्रसर उद्योग एवं निर्माण कम्पनी लिमिटेड रौतहट, र चन्द्रपुर ८ मा रहेको आश्रय अस्फाल्ट एवं क्रसर उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।