चन्द्रपुर २९ पुस ।चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरियामा रहेको स्वास्थ्य चौकीमा बिरामीहरु आउन छाडेका छन ।
बिरामीको संख्यामा कमि आउनुको प्रमुख कारण स्वास्थ्य चौकीमा औषधीको अभाव हो ।
उपचार गराउन आउनेहरुलाई निशुल्क प्रदान गर्ने भनिएका औषधीहरु दिन नसक्दा स्वास्थ्य चौकी मा बिरनमि आउन छाडेका हुन ।
स्वास्थ्य चौकीका सिनियर अहेव जयलाल पंडितले आफूहरुले बिरामीहरुलाई औषधी उपलब्ध गराउन नसक्दा आउन छाडेको बताउँछन् । नगरपालिकालाई ३ महिना अगाडिनै आवश्यक औषधी र संख्याको माग फाराम बुझाएपनि उपलब्ध नभएकाले बिरामीको उपचारमा निकै समस्या आइपरेको गुनासो गर्छन् ।
चन्द्रपुर नगरपालिकाका १ वटा अस्पताल, ४ वटा स्वास्थ्य चौकी र ३ वटा सहरी स्वास्थ्य केन्द्रले यस्तै समस्या भोगिरहनु परेको छ । नेपाल सरकारले ९१ किसिमका औषधीहरु नागरिकलाई निशुल्क उपलब्ध गराउन भनेपनि अहिले चन्द्रपुरका सरकारी स्वास्थ्य संस्थाहरुमा सिटामोल मात्रै उपलब्ध छन।
उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरे नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधीको विषयमा चन्द्रपुर नगरपालिकाले उदासिनता देखाएको गुनासो गरेका छन ।
यता चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश कुमार ठाकुरले आफुुहरुले ‘शुन्य कमिसन’ मा औषधी खरिद गर्न लागेकाले सो प्रक्रियामा केही ढिलो भएकाले स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव देखिएको स्विकार गरेका छन ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले कमिसन रहित तरिकाले औषधी खरिद गरेर नागरिकलाई थप सुविधा प्रदान गर्न आफुहरु सकृय रहेको बताएका छन ।
औषधी खरिद गर्न करिब ३५ लाख वजेट छुट्याएको र अबका दिनहरुमा स्वास्थ्य संस्थामा औषधीको अभाव हुन नदिने बताएका छन ।