रौतहट १८ मंसिर / चन्द्रपुर–९ स्थित मुसहर बस्तीका अधिकांश मतदान यो चुनावमा नेता देखि रिसाएर भोट दिन गएनन् ।
मतदाता खोज्दै चुनावको दिन वडाध्यक्ष नवराज देवकोटा आफैं बस्ती पुगे ।
जनता आवास कार्यक्रमअन्तर्गत बनाइएका घरको छानाको व्यवस्था नगरेसम्म मतदान गर्न नजाने स्थानीयले अडान लिए लिए ।
वडा अध्यक्ष देवकोटाले फकाएर केहीलाई मतदान गर्न लगे, केही नजाने भन्दै अडान कसे ।
जनता आवासले ६ महिनाभित्र सकिने भनेर बनाउन थालेको घर दुई वर्ष बित्दा पनि पूरा भएको छैन ।
घरको छाना नभएर बिचल्लीमा परेपछि बस्तीवासीले निर्वाचन बहिष्कार गर्ने सल्लाह गरेका हुन् ।
स्थानिय तहको चुनावमै भोट माग्न जानेहरू सबैले चुनाव पछि हुन्छ भनेर आश्वासन दिएको स्थानीय मनोज माझी मुसहरको गुनासो छ ।
मनोजको घरमा वृद्ध आमा, साना ४ बालबालिकालगायत ८ जना छन् । उनीहरू सबै प्लास्टिक टाँगेर महिनौ देखि बसेका छन् ।
दुई वर्षदेखि घाम, पानी, हावाहुरी, बर्खा, शीतलहर काटेको मुसहर समुदाय निकै पीडामा छन् । घरमा छाना लगाउन नसकेपछि अधिकांश त्रिपाल , पराल टाँगेर बसेका छन् ।
बस्तीमा ६० घर छन् । तीमध्ये जनता आवास कार्यक्रमअन्तर्गत ५० वटा घर मात्र बनाउन लागिएको हो ।
यो सहरी विकास मन्त्रालयअन्तर्गतको योजना हो । मन्त्रालयले गत वर्ष १२ करोड मात्र बजेट विनियोजना गरेकाले भवन निर्माणको काम सम्पन्न हुन नसकेको सहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख रुद्रनारायण दासले बताए ।
उनले भने ‘हामीले अझै ३० करोड बजेट भयो भने सबै भवन सम्पन्न गर्न सक्छौं भनेर माग गरेका छौं ।
रौतहटमा जनता आवास कार्यक्रमअन्तर्गत १ हजार २ सय ८० घर निर्माणाधीन छन् ।
अधिकाशको छाना, झ्याल, ढोका, र भुइँ ढलान गरिएको छैन । भवन निर्माण समितिकी कोषाध्यक्ष सीमा माझी मुसहरले चुनावका बेला नेताहरूले झूटो बोल्ने गरेकाले मतदान गर्न नगएको बताइन ।
जनता आवास कार्यक्रमले दुईकोठे भवन निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।