मधेश प्रदेश धेरै दृष्टिकोणले आफैँमा विशिष्ट रहेको छ । देशको राजनीति मूल राजनीतिमा अहिले जुन व्यवस्था रहेको छ, जसलाई संघीयता भनिन्छ, यसको प्राप्तिमा मधेशले ठूलो आन्दोलन गरेको थियो । सबैलाई थाहा छ, मधेश आन्दोलनको मूल केन्द्र नै यही क्षेत्र रहेको थियो । मधेशको पहिचान आन्दोलनको रुपमा मात्र नभएर यहाँको संस्कृति र प्रकृतिमा पनि रहेको छ । मधेसको प्रकृति गर्मीमा निकै गर्मी र जाडोमा निकै जाडो हुँदै गएको छ । विगत केही वर्षदेखि निकै जाडो भइरहेको छ । एकातिर गर्मीले जनजीवन प्रभावित हुने गरेको छ भने अर्कोतिर जाडोले पनि जनजीवनलाई त्यत्तिकै सताउने गरेको छ । पहिले गर्मी मात्र यहाँको पहिचान हुने गरेकोमा अब जाडो पनि यहाँको विशेषता बन्न थालेको छ र हरेक वर्ष शीतलहर चलेर जनधनको क्षति पु¥याउने गरेको यथार्थ छ । फेरि वर्षाको समयमा पनि बाढीले यही सताउँछ र यदि राम्ररी वर्ष भएन भने यस वर्षको जस्तो निकै कम पानी परेर धानबालीलाई यही नै हानि नोक्सानी हुन्छ । मधेशी स्वभावले पनि अलिक भिन्न छन् । समथर क्षेत्रको बासिन्दा हुनाले पहाडको तुलनामा केही कम मिहिनेती छन् । कम मिहिनेतको स्वभाव अझ अलिक बढ्दै गएको हो कि जस्तो लाग्दछ । पहिले पहाडमा अधिकांश शिक्षक यहीका हुने गर्दथे तर अहिले तराई मधेशमा नै शिक्षकको अभाव हुन थालेको छ । पहाडमा राम्रा शिक्षक उत्पादन गर्ने यहीका गुरुहरु हुन तर अहिले यही नै शिक्षा उर्वर बन्न नसकेको महसुस भइरहेको छ । तराई मधेशको शिक्षा कमजोर हुनुमा तराई मधेशको प्रवृत्ति नै जिम्मेवार रहेको देखिएको छ । हामी कम मिहिनेत गर्ने किसिमको मानिस बन्दैछौँ । यहीँका अभिभावकले यस प्रदेशभन्दा बाहिर आफ्ना सन्तानलाई राम्रो शिक्षाको लागि पठाउन थालेका छन् । यो पनि एउटा सोचनीय विषय रहेको छ । अहिलेको अवस्थामा जब शिक्षाले उच्च प्रविधि पनि हासिल गरिसकेको छ तब पनि हामी शिक्षाको क्षेत्रमा कमजोर बन्दै जानु हाम्रो लागि नै दुर्भाग्य हो ।
शिक्षाको क्षेत्रमा मात्र नभएर तराई मधेशमा पहिलेको तुलनामा धानको उत्पादनको अवस्था के छ, गहुँ कत्तिको उत्पादन भइरहेको छ, मसुरो तथा तेलहनको अवस्था कस्तो छ ? देशको अन्नको भन्डार भनेर मानिने तराई मधेशमा पशुपालनको अवस्था कस्तो छ ? अहिले त खेतीपातीको लागि पशुपालन विस्तारै कम हुँदै गएको छ । यसको अर्थ यो पनि हो कि पशुपालनमा व्यावसायिकता बढेको छ । व्यावसायिक पशुपालनमा बाख्रा ग्रामीण क्षेत्रको अधिकांश घरमा पालिएको पाइन्छ तर के यहाँको बाख्रापालनबाट यहाँको मासुको माग पूरा भएको छ त ? सम्भवतः कुखुरामा पनि हामी आत्मनिर्भर छैनौँ । यद्यपि कुखुराको धेरै अंश भने नेपालमै पूरा हुने गरेको पाइन्छ तर मधेशको अवस्था के छ ? अलिकति सजिलो गरी भन्न सकिने भनेको माछाको क्षेत्रमा हो । अहिले हरेक सरेहमा माछापोखरी बढेका छन् । मत्स्यपालन व्यवसायको रुपमा फस्टाएको अवश्य हो तर पनि माछामा मधेश आत्मनिर्भर बन्न सकेको छ कि छैन ? मधेशबारे यस प्रदेशका बासिन्दाले बढी विचार गर्नुपर्ने हो । अझ सचेत मधेशीले अझ बढी पक्षमा मधेशको विकासबारे विचार गरिनु आवश्यक छ । हुन त मधेशमा जातिवादको नारा निकै फस्टाएको छ । हो, पछिल्लो समयमा मधेशमा निकै फस्टाएको जातिवादको साँघुरो घेरा हो । जातीय साँघुरो घेराबाट विस्तारै समाज माथि उठ्नुपर्ने हो । समाजलाई अग्रगति दिनको लागि जातिवाद एउटा बन्धन हो । जातिवादले समाजलाई अगाडि बढाउँदैन, बरु समाजमा कट्टरताको विकास गर्छ भन्ने कुरा सबै जातिका सचेत नागरिकले बुझेका छन् तर पनि यस कट्टरताले आफ्नो पखेटालाई फिँजाउँदै लगेको छ । यसपटक प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जातिवादको विरोध गर्नेले पनि चुनावमा फलानो जातिको फलानो क्षेत्रमा यत्ति मानिस छन्। यसै कारणले जित्ने वा हार्ने सम्भावना रहेको छ भनेर विश्लेषण गर्ने गरेका थिए । यरी विश्लेषण गर्नेले यो कुरा भन्न चाहिँ छुटाउँदैनथे कि मैले जातिवादलाई नमाने पनि आखिरमा समाजमा जातिवादलाई मान्नेको संख्या नै धेरै छ । जातिवादको आधारमा भोट दिनुभन्दा उम्मेदवारलाई चिनेर, उम्मेदवारको घोषणापत्रलाई पढेर र उम्मेदवारलाई भरोसा गरेर भोट दिनुपर्ने हो । यस्तो पनि देखिएको छ कि जातिवादको विरोध गर्ने तर आफ्नो जातिको कोही उम्मेदवार छन् भने तिनको पक्षमा प्रचार गर्ने । जे जसरी भए पनि जातिको विरोध नगर्ने । जातिवादको पक्षमा वकालत गर्नेहरुले पनि कम्तीमा यस विषयमा ध्यान दिनु आवश्यक छ कि जातिवादको उपयोग शिक्षा, स्वास्थ्य र चेतनाको लागि गर्नु राम्रो हुन्छ । यदि जातिवादलाई बढावा दिनु छ भने जातीय पहिचान र जातीय विशिष्टतालाई मुद्दा बनाउनु उचित होला ।
साभार :इजनकपुर टुडे डट कम