सर्लाही , १९ मङ्सिर //
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सर्लाहीमा १६४ जना उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधि सभा सदस्यतर्फ ५८ जना र प्रदेश सभा सदस्यतर्फ १०६ जनाको जमानत जफत भएको हो । जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कूल सदर मतको कम्तिमा पनि १० प्रतिशत मत पाउनुपर्ने कानूनी प्रावधान छ ।
१० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । सर्लाहीका चारवटै क्षेत्रमा गरी प्रतिनिधिसभा सदस्य तर्फ ६९ जना उम्मेदवार रहेकामा ५८ जनाको र आठवटा प्रदेश सभा सदस्यतर्फ १३३ जना उम्मेदवार रहेकामा १०६ जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार प्रतिनिधि सभातर्फ सर्लाही क्षेत्र नम्बर १ बाट १९ जनाले उम्मेदवारी दिएकोमा १६ जना, क्षेत्र नम्बर २ बाट १७ जनाले उम्मेदवारी दिएकोमा १४ जना, क्षेत्र नम्बर ३ बाट १३ जनाले उम्मेदवारी दिएकोमा ११ जना र क्षेत्र नम्बर ४ बाट २० जनाले उम्मेदवारी दिएकोमा १७ जनाको जमानत जफत भएको छ । त्यसैगरी प्रदेश सभातर्फ सर्लाही १ (क) बाट १८ जनाले उम्मेदवारी दिएकोमा १५ जनाको र १ (ख) मा ११ जनाले उम्मेदवारी दिएकोमा सात जनाको जमानत जफत भएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ (क) मा १३ जनाले उम्मेदवारी दिएकोमा नौ जनाको, २ (ख) मा १८ जनाले उम्मेदवारी दिएकोमा १४ जनाको, क्षेत्र नम्बर ३ (क) मा १७ जनाले उम्मेदवारी दिएकोमा १४ जनाको, ३ (ख) मा १९ जनाले उम्मेदवारी दिएकोमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर ४ (क) मा १८ जनाले उम्मेदवारी दिएकोमा १६ जनाको र ४ (ख) मा १९ जनाले उम्मेदवारी दिएकोमा १५ जनाको जमानत जफत भएको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभामा जिल्लाभर २०२ जना उम्मेदवारमध्ये १० प्रतिशत मत ल्याउने ३८ जना उम्मेदवारको मात्रै जमानत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी पोख्रेलले बताए । प्रतिनिधि सभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ पाँच हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो ।
महिला, दलित, अल्पसङ्ख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो ।