रौतहट ,२२ मङ्सिर //
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महान पर्व उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ ।
किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने तथा शुभकामना आदनप्रदान गर्ने गर्दछन।
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई उधौली र उभौली दुई भागमा बाँडेको छ। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खारपितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
धर्ती तातो हुँदै जाँदा चराचुरुङ्गी लेकतिरको शीतलतर्फ जान्छन्, त्यस समयको चाडलाई उभौली भने यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुङ्गी तराईतिर झर्ने भएकोले यसलाई उधौली भनिएको किराँती राई यायोख्खाका अध्यक्ष राईले बताए।
यता, संस्कृति अध्यता भोगिराज चाम्लिङ उधौली र उभौली चाड मनाउने तरिका फरक रहेको बताउछन । उनी भन्छन्, उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गरिन्छ ।