रौतहट २४ मंसिर / जिल्लाका ३ वटा स्थानीय तहले एउटै नदीको क्षेत्रलाई आ आफ्नो क्षेत्र दाबी गरेपछि बिवाद हुँदै आएको छ ।
नगरको सिमाको चर्किएको विवाद ५ वर्ष भइसक्दा समाधान हुन सकेको छैन ।
विवाद हुदा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कासमेत प्रभावित हुँदै आएको छ ।
रौतहटको चन्द्रपुर र वृन्दावन नगरपालिका तथा सर्लाहीको वाग्मती नगरपालिकाले वाग्मती नदीको पश्चिम क्षेत्रलाई आफ्नो क्षेत्रमा पर्ने दाबी गर्दै आएको छ ।
तीनवटै पालिकाले गिट्टी, बालुवा, ढुंगा उत्खननको ठेक्का लगाउँदै आए पनि निकासी भने गर्न पाइरहेका छैनन् ।
‘सीमा विवाद सुल्झिन नसकेकोले धेरै समस्या भएको , नदीजन्य पदार्थको निकासीमा वाग्मती नगरपालिकाले अवरोध सिर्जना गर्दै आएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय काफ्लेले बताएका छन ।
गतवर्ष चन्द्रपुरले लगाएको ठेक्काअनुसार नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्न लाग्दा वाग्मतीका नगर प्रमुख भरत थापा ले अवरोध गरेका थिए ।
तीनवटै पालिकाबीच समन्वय नहुँदा बर्षौ देखिको विवाद जस्ताको तस्तै रहेको सरोकारवालाहरुको भनाई छ ।
वाग्मतीका नगर प्रमुख थापाले जीपीएस प्रविधिबाट हेर्दा पश्चिम क्षेत्र आफ्नो पालिकामा पर्ने भन्दै कुनै हालतमा उत्खनन गर्न नदिने अडान राख्दै आएका छन् ।
वाग्मती नगर क्षेत्रमा वृन्दावन र चन्द्रपुरले ठेक्का लगाउँदै आएपछि विवाद भएको बागमती नगरप्रमुख थापाले बताए ।
चन्द्रपुर र गुजराबीच पनि उस्तै विवाद
चन्द्रपुर र गुजरा नगरपालिकाबीच पूर्व–पश्चिम राजमार्ग र उत्तरी क्षेत्रको सीमा विवाद समाधान हुन सकेको छैन ।
नक्सामा चुरेसम्म गुजराको सीमाक्षेत्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जीओग्राफी इन्फरमेसन सिस्टमले देखाएपछि यहाँ पनि विवाद भित्रिएको थियो ।
चन्द्रपुरको भोलनटार, इपिलिघारी र अरुणबस्ती गाउँ गुजरा कि चन्द्रपुर कुन पालीकामा पर्छन् भन्ने अन्योल छ ।
दुवै पालिकाले आ–आफ्नो दाबी गर्दै पालिकोको बोर्डसमेत झुन्ड्याएका छन् ।
गुजरा नगर प्रमुख सन्तलाल चौधरीले पूर्वपश्चिम राजमार्गको लामाहा क्षेत्रबाट पश्चिमतर्फ धन्सारसम्म आफ्नो पालिकाभित्र पर्ने दाबी गर्दै आएका छन ।
‘संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जीओग्राफी इन्फरमेसन सिस्टमले पनि गुजराको देखाइसकेको छ,’ मेयर चौधरीले भने ।
चन्द्रपुर का प्रमुख संजय काफ्लेले ३ दशकदेखि लमाहा–धन्सार खण्ड र चुरेक्षेत्र आफ्नो पालीकामा पर्दै आएकोमा अहिले विवाद झिकिएको बताए ।