रौतहट २३ मंसिर / दुई वर्षदेखि पुर्णरुपमा बन्द गरुडा को श्रीराम सुगर मिलको सामान चोरी हुन थालेको छ ।
मिलको मेसिन सञ्चालन गर्ने मोटर र केही फलामे समान चोरी हुन थालेको बताइएको छ ।
मिल बन्द भएपछि चौकीदारले बाहिरी भागको रेखदेख गर्दै आएका छन ।
मिलमा चिनी, स्प्रिड र केमिकल उत्पादन हुन्थ्यो । तर, पछिल्लो १० वर्ष अघिदेखि लक्ष्यभन्दा कम उखु क्रसिङ गर्न थालेपछि मिलले घाटा बेहोर्नुपरे भन्दै बन्द गरेको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाले मिलको फलाम चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ पनि गरेको थियो । उनीहरू पक्राउ पर्नुअघि मिलका मोटरसमेत चोरी भएको प्रहरीले जनाएको छ ।
मिलका सहायक प्रशासकीय अधिकृत श्याम यादवले चारैतिर पर्याप्त घेराबेरा नभएको र सुरक्षागार्ड अभावले सामानहरू चोरी भएको बताए ।
मिलको पूर्वी भागका घेराबेरा स्थानीयले भत्काइदिएका छन् । त्यहीबाट मानिसहरू भित्र प्रवेश गर्दै आएका छन् । अहिले ५/६ जना सुरक्षागार्डले मिलको रेखदेख गरिरहेका छन् । मिल बन्द अगावै २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ घाटा भएको भन्दै कर्मचारी हटाएको थियो ।
तीन महिनाअघि तत्कालीन संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोली ले मिलको अवस्था हेरेर गएको थियो ।
समितिले किसान, कर्मचारी युनियन, मजदुर संघका पदाधिकारीलगायतलाई भेटेर फर्केको थियो । मिल बन्द हुनुको कारण, किसानका समस्याबारे छलफल भएको उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए ।
२६ वर्षदेखि सञ्चालनमा रहेको चिनी मिल बन्द हुँदा सिजनल, रेगुलर र करार गरी ३ सय २५ जना कर्मचारी मिलले हटाएको थियो ।
मिल स्थापनाको केही वर्षसम्म मुनाफामा चलेको थियो । बारा, पर्सा, रौतहटका किसानको एक सिजनमा ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने मिलको लक्ष्य थियो ।