रौतहट २३ मंसिर / किसानले बाध्यभएर कम मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न थालेका छन् ।
नगदे बालीका रूपमा रहेको उखु बेच्ने अरु विकल्प नभएकाले सक्खर उत्पादन गर्ने उद्योगलाई बेच्न बाध्य भएकाे किसानको भनाई छ ।
सरकारले यस वर्ष ६ सय रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरेको भए पनि किसानले अहिले सक्खर उद्योगलाई प्रतिक्विन्टल चार सय रुपैयाँका दरले उखु बेच्न बाध्य छन ।
उखु कसैले खरिद गर्न नसकेको अवस्थामा बाध्य भएर सस्तो मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेको गढीमाई नगरपालिका-२, हथिऔलका किसान राजदेव दासले गुनासो पोखे ।
किसानले खेतमा लगाएको उखु बेचेर पुनः मुसुरोलगायतका बाली लगाउन सकिने भएकाले हतार-हतारमा उखु बेच्ने गरेको बताउछन ।
गढीमाई नगरपालिका मा एक दर्जन सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेका छन ।
उद्योग सञ्चालकहरूले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् ।
उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि तीन सय रुपैयाँ प्रतिक्विन्टल हुन्छ, खपत बढी भयो भने चार सयदेखि साढे चार सयसम्ममा उखु लिने गरेका छन् ।
१२ क्विन्टल उखु पेलेर एक क्विन्टल सक्खर उत्पादन हुँदै आएको गढीमाई नगरपालिका २ का सक्खर उत्पादक व्यवसायी रामेश्वर दासले बताए ।
कालो सक्खरको पाँच हजार र सेतो सक्खरको ६ हजार पाँच सय रुपैयाँ प्रतिक्विन्टल मा बिक्री हुन्छ ।
भारतबाट अवैध रूपले आउने सक्खरका कारण आफ्नो व्यवसाय नै धराशायी बन्दै गएको गढीमाई नगरपालिका-२, स्थित सञ्चालनमा रहेको सुसारत गुड उद्योगका सञ्चालक रामप्रवेश दासको गुनासो छ ।
सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवैले समस्या झेल्दै आएको सख्खर व्यापारी बताउछन ।
भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार उत्पादन गरिएको सक्खर बेच्नुपरेकाले लगानीअनुसारको मूल्य आउन नसकेको उनको गुनासो छ ।