रौतहट, १३ गते पुस । परोहा नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा नगरक्षेत्रका बासिन्दा लाई आवश्यक रगत निशुल्क उपलब्ध गराउने योजना शुरु गरेको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले प्रादेशिक अस्पताल गौर वा अन्य अस्पतालमा उपचारको क्रममा रगतको आवश्यकता परे निशुल्क उपलव्ध गराउने बताएका छन ।
नेपाल रेडक्रस सोसाइटी गौर रौतहट शाखा अन्तर्गतको ब्लड बैंकले रगत लिए बापतको एघार सय पच्चास रूपैयाँ नगरपालिकाले भुक्तानी दिने जनाएको छ ।
ब्लड बैंकबाट रगत नि:शुल्क उपलब्ध गराउने बारे नेपाल रेडक्रस सोसाइटी रौतहटका महामन्त्री धर्मेन्द्र कुमार सिंह र मेयर वकिल बिच सहमती भएको छ ।
ब्लड बैंकले गरेको सेवा र परोहा नपाको जनतालाई कुनै बेला रगतको खाचो परेको अवस्थामा नि:शुल्क रगत उपलब्ध गराउने दुई पक्षीय सहमति भएको छ ।
बिरामीहरुलाइ आवश्यक रगत उपलव्ध गराउन मेयर शेख वकिलले २ लाख रुपैया रेडक्रस सोसाइटी रौतहट शाखालाई हस्तान्तरण गरेका छन् ।
कार्यापालिकाको बैठकबाट परोहा नगरपालिकाको सबै वर्गको जनसमुदायलाई प्रत्यक्ष लाभ हुने हितकारी योजनाहरू सर्वसहमतिले पास भएको छ ।
किसानहरू धेरै मर्कामा परेकोले यस आर्थिक बर्ष २०७९ श्रावण देखि असारसम्म किसानले खेतीगर्नका लागि लिएको कृषि मिटरको रकम सबै पालिकाले तिर्ने छ ।
घरेलु मिटर र कृषि मिटरबाट बन्चित रहेको सबै नगरबासीलाई निशुल्क मिटर जडान गराउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्ने उनले बताए ।
बेमौसमी र मौसमी खेती गर्नलाई वडा नं १ देखि ९ सम्मको किसानलाई सहजरूपमा पानी उपलब्ध हुने उदेश्यले खेत-खेत सम्म १०० वटा बिजुलिको पोल, तार र प्रत्येक वडामा छुट्टाछुट्टै १/१ वटा ट्रान्सर्फमर जडान यसै आर्थिक बर्ष भित्र जडान गराउने निर्णय भएको मेयर वकिलले जानकारी दिएका छन ।