धनुषा , २६ मंसिर //
धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ। धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो ।
उनकै श्रीमानले हत्या गरेको खुलेको छ । गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको जानकारी दिए । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए ।
श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी विरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।