Wednesday, January 22, 2025

देश घुमीफिरी मध्यावधि चुनावतिर जाने देखियो : केपी ओली

पछिल्लाे समाचार

काठमाडौँ ९ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले देश मध्यावधि चुनावतर्फ जाने सम्भावना देखिएको बताएका छन् । सत्ता गठबन्धन दलहरूले सरकार नेतृत्वको विषयमा सहमति जुटाउन नसकिरहँदा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूलाई लक्षित गर्दै उनले सरकार गठनमा देखिएको अन्योलताले अब फेरि घुमीफिरी मध्यावधि चुनावतर्फ जाने अवस्था देखिएको बताए । शनिबार नेकपा एमाले प्यूठान-काठमाडौं सम्पर्क मञ्चको एक कार्यक्रममा नेता ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस क्रममा उनले एमाले बाहेकका दलहरूको कुनै गन्तव्य नरहेको आरोप लगाए । ‘एमाले बाहेकका दलहरूको कुनै गन्तव्य छैन । उनीहरूको गन्तव्य सरकारमा जाने र मन्त्री खाने मात्रै रहेको छ । नेकपा एमाले मात्रै स्पष्ट गन्तव्य भएको दल हो । हाम्रो दलगत स्वार्थ छैन । हाम्रो राष्ट्रिय स्वार्थ छ,’ ओलीले भनेका थिए।

चुनावपछिको अवस्थामा अब एमाले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर संगठन विस्तार गर्दै जनतामाझ जाने योजना रहेको पनि उनले बताएका थिए । साथै एमालेका नेताहरू अब जनता र कार्यकर्ता माझ जानुपर्ने पनि उनको भनाइ थियो । अध्यक्ष ओलीले एमाले मात्रै अन्य पार्टीभन्दा भिन्न र वैचारिक रुपमा स्पष्ट भएको पनि दाबी गरेका थिए ।

यसैबीच उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने पनि जिकिर गरे । कुनै पनि कामको सीमित समय रहने र समय घर्किएपछि त्यसको औचित्य सकिने प्रसंग जोड्दै उनले अब दाहाल प्रधानमन्त्री बन्ने समय सकिएको जिकिर गरेका थिए।

इकान्तिपुर बाट साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु