रौतहट २ पुस / माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले आर्थिक अनियमितता गरेको आरोप छ ।
मेयर यादवले कार्यक्रम नै नगरी खाजा र खानाको शिर्षकमा लाखौं रकम निकासा गरेर रकम हिनामिना गरेको गुनासो छ ।
माधव नारायण नपाका मेयर यादवले कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको उल्लेख गरेर लाखौं रकम भुक्तानी गराएको पाइएको छ ।
मेयर यादवको आदेशमा गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र चन्द्रनिगाहपुरकै पशुपति होटलको ४६ हजार रुपैया भुक्तानी गरेको नगरपालिकाका लेखापाल रामबलम यादवले बताएका छन् ।
मेयर यादवको ठाडो तोक आदेशमा होटलहरुलाइ दिइएको रकम बाट नगरपालिकासंग सम्बन्धी कुनै कार्यक्रम भएको पाइएको छैन ।
कुनै संस्था वा उपभोक्ता समितिको नाममा मात्र योजनाको पेश्की दिनुपर्ने प्रावधान भएपनि माधवनारायण नगरपालिकाबाट चारजना कर्मचारीको व्यक्तिगत नाममा लाखौं रकम पेश्की निकासा गरिएको छ ।
विभिन्न कार्यक्रम सञ्चालन गर्ने भन्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिश्रिलाल साहको नाममा ८ लाख ५० हजार, प्रशासन शाखा प्रमुख पृथ्वीनारायण यादवको नाममा १२ लाख, करार सेवाका कार्यालय सहयोगीको रुपमा कार्यरत अर्जुन साहको नाममा ८ लाख र करार सेवाकै अर्का कार्यालय सहयोगी राजेश पण्डितको नाममा ७ लाख रकम निकासा गरिएको छ ।
नगरपालिकाले ठोस काम गर्न नसकेको र विकास बजेट दुरुपयोग गर्दै आएको जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य श्याम विहारी यादवको गुनासो छ ।
कर्मचारीलाई पेश्की, होटलको अनावश्यक विल भुक्तानी लगाएत काम गरेर मेयर यादवले अनियमितता गरेकोे प्रदेश सदस्य यादवको आरोप छ ।
मेयर बैजनाथ यादवले नगरपालिको बजेट अनियमितता नभएको प्रतिकृया दिएका छन ।