रौतहट, ३ मंसिर । मतदातालाई प्रलोभनमा पर्न खाज्ने ८ जनालाई नगद, स्वस्तिक छाप लागेको नमुना मतपत्र सहित संयुक्त सुरक्षा गस्ती टोलीले रौतहटको विभिन्न स्थानहरुबाट शुक्रवार राति नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका क्षेत्र नम्वर ४ प्रदेश सभा (ख) का उम्मेदवार फुलबाबु भन्ने अबुल कलाम आजादका कार्यकर्ता तथा आफन्तहरु रहेको बताइएको हो । रौतहटको गढीमाई नगरपालिका ४ मा प्रहरी निरीक्षक अरविन्दकुमार साहको कमाण्डमा रहेकाे गस्ती टोलीले विआर ३० एवि ७५२० नम्वरको कारलाई चेकजाँच गर्दा प्रेसर कुकर, स्वस्तिक छाप लागेका ६ हजार नमुना मतपत्र सहितका सामग्रीहरु बरामद भएको जनाईएको छ ।
कार चालक रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीका २४ बर्षिय रंजितकुमार यादव, लगाएत २३ बर्षिय निलेश यादव , १४ वर्षीय रंजन यादवका साथै वृन्दावन नगरपालिका ४ का २३ वर्षीय छोरा अनिल यादव, कटहरिया नगरपालिका ६ फत्तेपुरका ३१ वर्षीय मनिर मिया र मौलापुर नगरपालिका ६ पथराका २४ वर्षीय सत्यलाल यादव रहेको प्रहरीले जनाएको छ ।
यस्तै बा १७ च ८३९८ नम्बरको कारबाट संयुक्त सुरक्षा टोलीले दुई जनालाई नियन्त्रणमा लिनुका साथै केही नगद र नमुना मतपत्र बरामद गरेको छ ।
गढीमाई ४ बाट संयुक्त सुरक्षा टोलीले कार चालक गरुडा नगरपालिका ८ जिंगडियाका २३ वर्षीय खुरसेद शेष र गढीमाई ३ गम्हरियाका ५१ वर्षीय शेष मुन्नालाई दुई लाख १४ हजार २ सय रुपैया नगदका साथै जसपा र एमालेको स्वस्तिक चिन्ह नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
शुक्रवार मध्य रातमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ८ जना व्यक्ति, कार तथा नगद र नमुना मतपत्रसहित अन्य विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएपी सुनिल मल्लले बताए ।