रौतहट ,१ मङ्सिर//
आज राति १२ बजेबाट स्थिर समय लागु हुने भएको । स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचन प्रचार-प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइने छैन।
मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसार सामग्रीसमेत हटाउनु पर्नेछ ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन पाइने छैन ।
निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।
मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने काम गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।