रौतहट २० कार्तिक /माओवादी केन्द्र परित्याग गरि दर्जनौ व्यक्ती नेकपा एमालेमा प्रवेश गरेका छन ।
वृन्दावन नगरपालिकाका नगर कमिटी अध्यक्ष , उपाध्यक्ष सहित माओवादी केन्द्रका दर्जनौं नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । आइतबार आयोजित नेकपा (एमाले) को घरदैलो कार्यक्रममा माओवादी नगर अध्यक्ष संजिव पटेल, नगर उपाध्यक्ष कृष्णनन्दन पटेल लगायतका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उद्धव रेग्मी, प्रदेश सभा सदस्य पदका उम्मेदवार अखिलेश्वर चौधरी, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बिना साह, मधेस प्रदेश समानुपातिक उम्मेदवार आरती भण्डारी, जित बहादुर बि.क. , क्षेत्रिय इन्चार्ज प्रेम शंकर यादव लगायतले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी नगर अध्यक्ष पटेलले देश बनाउने एकमात्र पार्टी नेकपा (एमाले) भएकाले आफुहरु माओवादी परित्याग गरेर एमालेमा आएको बताए । उनले समय क्रमसँगै माओवादीले जनयुद्धको मर्मलाई चट्टकै बिर्सिएर कांग्रेसको बुँइ चढ्ने काम गर्दै कम्यूनिष्ट चरित्र त्याग गरेकाले आफुहरुले वास्तविक कम्यूनिष्ट शक्तिको रुपमा नेकपा (एमाले) लाई छानेको प्रतिक्रिया दिए । नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उद्धव रेग्मीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियान साकार पार्न नेकपा (एमाले) ले जित्नैपर्ने बताउँदै यस अभियानमा सबै पार्टीका व्यक्तिहरु पनि जोडिनुपर्नेमा जोड दिए । उनले नेपाललाई स्वाभिमान सहितको समृद्ध बनाउन नेकपा (एमाले) ले मात्र सक्ने दावी गर्दै यसमा आम नेपाली जनता तथा सबै पार्टीका नेता कार्यकर्ताले साथ दिने विश्वास व्यक्त गरे । सो कार्यक्रममा माओवादी केन्द्र प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका बाबुलाल राउत, हेमन पटेल, राम प्रवेश, मुकेश पटेल, सावन पटेल, लक्ष्मी पटेल, संजय पटेल, राम विनोद पटेल, जितेन्द्र चौधरी, डल्लु कुमार पटेल, चन्द्रदेव पटेल, पवन पटेल, नेपाली कांग्रेस परित्याग गरेर उमेश पंडित लगायत रहेका नेकपा (एमाले) मधेश प्रदेश सदस्य बैजनाथ सहनीले जानकारी दिए ।