चन्द्रपुर १५ कार्तिक /निर्वाचन आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तथा मत माग्न नपाइने भन्दै निर्देशन जारी गरेको छ ।
तर, रौतहटमा भने अधिकांश पालिकाका जनप्रतिनिधिहरु निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै आ– आफना दलका उम्मेदवारको पक्षमा खुलेर प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ ।
रौतहटमा रहेको १८ वटा स्थानीय तहमध्ये अधिकांश पालिकाका निर्वाचित नगर प्रमुख, उपप्रमुख देखी लिएर वडा अध्यक्ष र सदस्यहरु समेत आफना पार्टी का साथै गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदाताको घरदैलोमा छन ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा यहाँका स्थानीय तहहरुका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिका र पालिका भन्दा बाहिर समेत गई पार्टीका उम्मेदवारको पक्षमा प्रचारप्रसारमा लागेका छन ।
नगरपालिका र गाउँपालिकाको कामकाज छोडेर जनप्रतिनिधिहरु आ– आफना पक्षमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको मत माग्न व्यस्त छन ।
जनप्रतिनिधिहरु कार्यालयमा बस्न छाडेपछि सेवा लिन आउने सेवाग्राहीहरु काम नभएपछि घर फर्किन बाध्य भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसारमा लागेमा कारबाही हुने निर्वाचन आयोगले जनाउदै आएपनि जिल्लामा स्थानीय तहका अधिकांश कार्यपालिका पदाधिकारी र सदस्यहरू आ–आफना दलका उम्मेदवारको पक्षमा प्रचारमा भेटिने गरेका छन ।
स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तह बाहेकमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने आयोगले उल्लेख गरेको छ ।