बारा / आचारसंहिता विपरित मौन अवधीको समयमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलले घरदैलो गरेका छन्।
मौन अवधीको उल्लंघन गर्दै बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठ र प्रदेशसभा ४(२) का उम्मेदवार सोनलले परवानीपुर गाँउपालिका ३ लिपनीमालमा शुक्रबार कार्यकर्तासहित घरदैलो गरेका हुन्।
मंसिर ४ गतेको निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधी सुरु भएको छ। निर्वाचन सम्पन्न नहुँदासम्मका लागि लागु हुने मौन अवधीको समयमा उम्मेदवार र दलले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्। तर निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गर्दै श्रेष्ठ र सोनलले उक्त क्षेत्रमा घरदैलो गरिरहेका छन्।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घरदैलो र चुनावी प्रचार भइरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको र उम्मेदवारलाई फोन गरेर उक्त कार्य तत्काल रोक्न आग्रह गरेको र नरोकिए आचारसंहिता विपरित कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।