रौतहट , २८ असोज //
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो ।
रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको बताए ।
एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो । तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आएका थिए ।
साहले रौतहट ३ सहित एमाले र जसपाबीचको तालमेलमा जसपाले प्राप्त गरेका सिटमा स्वतन्त्र उम्मेदवार उठाएका हुन् ।