सर्लाही , ३१ असोज //
सर्लाहीको बाँके चोकमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्वरको बस सोमबार बिहान ३ बजेतिर पूर्व–पश्चिम राजमार्गबाट श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटना परेको हो ।
बस अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा घाइते भएका यात्रुको लालबन्दी र बयलवासमा रहेका विभिन्न अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासले जनाएको छ ।
घाइतेमध्ये बसका सह–चालक झापाको मेचिनगर नगरपालिका–७, बस्ने २१ वर्षीय प्रदीप पुरीको अवस्था गम्भीर रहेको छ । उनलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै रेफर गरिएको छ ।
अन्य घाइतेको अवस्था सामान्य रहेको र उपचार पश्चात धमाधम डिस्चार्ज भइरहेका केशरगञ्जका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए । दुर्घटनापछि बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।
चालक निदाएका कारण बस दुर्घटनामा परेको देखिएको प्रहरीले जनाएको छ ।