रौतहट , २ कार्तिक //
माटोको ढिस्कोमा रौतहटमा परेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा २ जमुनिया गाउँमा माटोको ढिस्कोमा पुरिएर सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छिन् ।
दीपावली र छठका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर सोमबार साँझ मृत्यु भएको हो। माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सासूसँगै बुहारी सुनिता कुमारी चौधरी समेत ढिस्कोले पुरिएर घाइते भएकी थिइन्। बुहारी सुनिता स्थानीय अस्पतालमा उपचार पछि खतरा मुक्त रहेकी छिन् ।