Monday, January 27, 2025

जमिनको बिषयमा असइले एक सर्वसाधारणलाइ कुटे

पछिल्लाे समाचार

रौतहट ११ कार्तिक / जमिनको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जमातहतमा रहेको पर्सा पोखरीयामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सर्फलाल यादवले स्थानीयलाई धम्की दिँदै आएको पीडितले बताएका छन् । 
पीडितले असई यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरीसमेत दिएका छन् । यही विषयलाई लिएर एक साता अघि घर बिदामा रौतहट आएका असई यादवले लखेटी–लखेटी कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

जिल्लाको फतुवा विजयपुर नगरपालीका–६ पेटहर्वा घर भएका असई यादव र छिमेकी राजकिशोर साहबीच लामो समयदेखि जग्गाको विषयमा विवाद हुँदै आएको थियो । यही विषयलाई लिएर असईले यही असोज २९ गते लखेटी–लखेटी कुटपिट गरेको साहले बताए । कुटपिटबाट स्थानीय शिवबालक साह घाइते भएका छन् । यादव पक्षका पनि केही घाइते भएको प्रहरीको भनाइ छ ।

‘असईले हामीलाई ज्यान मार्ने धम्की दिने गरेका छन्,‘पिडित साहले भने,‘न्यायका लागि शान्ति सुरक्षा पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छौँ । तर निवेदनउपर अहिले सम्म कुनै कारबाही भएको छैन ।’ असई यादवले गाउँमा अश्लील शब्द प्रयोग गर्ने, पदको दम्भ देखाउँदै गोली हानेर मार्ने जस्ता शब्द प्रयोग गर्दै आएको पीडित साहको भनाइ छ ।
एक साताअघिको घटना भए पनि शुक्रबार बिहानसम्म असई यादवले निरन्तर गाली र धम्की दिने गरेको पीडितको भनाइ छ ।
इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरीक्षक सुरेन्द्र धमलाले कुटपिट,झडपमा साह र यादव पक्षकै घाइते भएको बताए । ‘जमिनको विषयमा दुवै पक्षबीच कुटाकुट भएको हो । यही विषयमा बिहीबार प्रहरी कार्यालयमा जनप्रतिनिधिको रोहबरमा दुवै पक्ष बसेर सहमति गरेका छन् ।
प्रहरी निरिक्षक धमलाले भने,‘पीडितको निवेदनउपर छलफल गर्न भनेर असई यादवलाई बोलाएका हौँ । सायद बिदाका कारण आउन नपाएर ढिला भएको हो । यस विषयमा हामी गम्भीर छौँ ।’

प्रहरी कार्यालयमा भएको छलफलमा तत्काल जग्गाको विषय मिलाउने र कुटपिटमा घाइतेको उपचार गर्ने सहमति भएको प्रहरी निरीक्षक धमलाले जानकारी दिए ।
गत असोज ११ गते राजकिशोर लगायत स्थानीयले असई यादवको ‘आतंक’ विरुद्ध जिल्ला प्रशासनमा निवेदन दर्ता गराएका थिए । प्रशासनको पत्रपछि जिल्ला प्रहरीले इलाका प्रहरी कार्यालय फतुवा विजयपुरलाई ‘असई यादवबारे के भएको हो ? दुवै पक्षलाई कार्यालयमा बोलाई छलफल गराउन र कानुन बमाोजिम गर्नू’ भनेर पत्र पठाएको थियो ।

प्रशासनको पत्रपछि लाइ फतुवा विजयपुर प्रहरीले बेवास्ता गरेको पीडित साहको भनाइ छ । कुटपिट गरेको घटनाको भिडियो सार्वजनिक भएपछि असई यादवले आफूलाई धम्की दिइरहेको साहले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु