सर्लाही , २५ भदौ //
सर्लाहीको नवलपुरमा दुईवटा जंगली हात्ती देखिएको।
बिहीबार राति ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रमा एक्कासी देखा परेका जङ्गली हात्ती शुक्रबार बिहानपख भने लालबन्दी नगरपालिका–१, स्थित नवलपुरमा देखा परेका स्थानीयले बताएका छन् । दुईवटा हात्ती दिनभर नवलपुरको सर्पदंश उपचार केन्द्र नजिककै जङ्गलमा बसेका स्थानीय भिम पौडेलले जानकारी दिए ।
बस्ती नजिकैको जङ्गलमा हात्ती देखिएपछि स्थानीय त्रसित भएका छन् । हात्ती देखिएपछि स्थानीय शुक्रबार दिनभर घाँस दाउराका लागि जङ्गल जान सकेनन् ।
यि हात्ती सागरनाथ जङ्गल हुँदै महोत्तरीबाट सर्लाहीतर्फ आएको अनुमान गरिएको छ । दुई दिन अघिसम्म महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकामा दुईवटा जङ्गली हात्तीले स्थानीयको घर भत्काउने र बालीनाली नष्ट गरेको थियो ।
हरेक वर्ष यही समयमा सर्लाही र महोत्तरीमा जङ्गली हात्तीले आतंक मच्चाउने गरेका छन् । हात्ती देखिएपछि वन कार्यालय र प्रहरीमा खबर गर्न डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले आग्रह गरे ।
उनले हात्तीलाई नचलाउन र नजिस्काउन वन कार्यालयले आग्रह गरेका छन् । उनले बस्तीमा पसेको हात्तीलाई जंगलतर्फ नै धपाउन कर्मचारी परिचालन गरिसकिएको जानकारी दिए।