रौतहट , ४ असोज //
चन्द्रपुर नगरपालिकाले १५ लाखमा खरिद गरेर अढाइ वर्षदेखि थन्काएर राखेको घुम्ती शौचालय पुनः सञ्चालनमा ल्याउन लागेको छ ।
दुईवटा घुम्ती शौचालयमध्ये चन्द्रपुर नगरपालिकाको कार्यालय अगाडि थन्काएर राखिएको एउटा घुम्ती शौचालय आजदेखि चन्द्रनिगाहपुरस्थित मेन चोकमा राखेर सञ्चालन गरिएको हो ।
खरिद गरेको केही समय सञ्चालनमा ल्याइएपनि अढाइ वर्षभन्दा बढी समयदेखि उक्त शौचालयहरु प्रयोग विहीन बनाएर थन्काएर राखिएको थियो । अहिले एउटा शौचालयलाई पूर्व–पश्चिम राजमार्गमा राखेर सञ्चालन गरिएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्लेले बताए ।
उनले चाडपर्वको बेला स्थानीय र यात्रुहरुको चापपनि बढी हुने कुरालाई मध्यनजर गर्दै नगरपालिकाले थन्किएको घुम्ती शौचालय सञ्चालन गरेको बताउंदै यसलाई थप व्यवस्थित गर्ने जानकारी दिए।
सार्वजनिक शौचालयको लागि पायक पर्ने स्थान र जग्गा नभएको भन्दै नगरपालिकाले विकल्पको रुपमा घुम्ती शौचालय खरिद गरेको थियो ।
खरिद गरेको केही समयपछि ठेक्कामा चलाउन खोजेपनि नगरपालिका असफल भएको थियो । त्यसपछि ती शौचालयहरु वेवारिसे बनाएर थन्काएर राखिएका थिए ।
एउटा घुम्ती शौचालय सञ्चालनमा आएपनि अर्को भने चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा वेवारिसे अवस्थामा रहेको छ । लामो समय एक ठाउँमा राखिएका कारण ती शौचालयहरुका पाटपूर्जामा खिया लाग्न थालिसकेका छन् । उक्त शौचालयलाई पनि छिट्टै व्यबस्थापन गर्ने नगरप्रमुख काफ्लेले जानकारी दिए।