बारा ,११ असोज //
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ ।
नेपाल सरकारका स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले अस्पतालको शिलान्यास गरेका हुन् । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उदेश्यसहित अस्पतालको शिलान्यास गरिएको जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलले जानकारी दिए।
भवन निर्माण शिलान्यास भएसंगै उपमहानगरपालिकाले अस्पतालको सेवा प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधारमा सुरु गर्ने भएको छ । नगरप्रमुख पौडेलका अनुसार एक महिनाभित्रमा सेवा सुरु गरेर अघि बढ्ने तयारी छ ।
उपमहानगरपालिकाले एकजना एमडिजीपी चिकित्सकसहित, तीन मेडिकल अधिकृत, तीनजना स्टाफ नर्स, एक एनेस्थेसिया र फार्मेसी सहायक गरी ९ जना जनशक्ति माग गरेको छ ।
नगर प्रमुख पौडेलले उपमहानगपालिकाकै स्रोतमा प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधारबाट तत्काल सेवा सुरु गरिने भएकोले यथाशिघ्र दरबन्दी कायम गरिदिन मन्त्री खापुङको ध्यानाकर्षण गराएका थिए।