रौतहट , ९ असोज //
रौतहटको बौधिमाई नगरपालिकाका शंकर माविका विद्यार्थीहरुले नगरपालिकामा तोडफोड गरेका छन् ।
विद्यार्थीहरुको समूहले आफूहरुले बारम्बार शैक्षिक भ्रमणको लागि बजेट छुट्याउन माग गरेपनि नगर प्रमुख प्रदीप यादवले अटेर गरेको भन्दै तोडफोड गरेको जनाइएको छ । आक्रोशित विद्यार्थीहरुले नगरपालिकामा राखिएको नगर प्रमुख यादव चढ्ने ना १ झ १६९३ नम्बरको सरकारी गाडी समेत तोडफोड गरेका छन् ।
विद्यार्थीहरुले जथाभावी ढुंगा प्रहार गर्दा गाडीका सिसाहरु सबै फुटेका छन् भने विभिन्न भागहरु कुचिएको छ । विद्यार्थीहरुको आक्रमणबाट नगरपालिकाका झ्यालका सिसाहरु , नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइकललगायतका सवारी साधनहरु पनि तोडफोड भएको नगरपालिकाले जनाएको छ ।
प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि ९ राउन्ड अश्रु ग्याँस तथा ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उनले विद्यार्थीको आक्रमणबाट बंकुल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुनिल कुमार यादव तथा सशस्त्र प्रहरीका ३ जना सुरक्षाकर्मी घाइते भएको बताए । त्यसैगरी केही विद्यार्थीहरु पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
नगर प्रमुख यादवले विद्यार्थीहरुले आफूलाई शैक्षिक भ्रमणको लागि रकम माग गर्न आएको स्वीकार्दै आफूले पनि परिषद् हुने बित्तिकै व्यवस्था मिलाउने प्रतिबद्धता गरेपनि तोडफोड गरेको बताए ।
उनले गत शुक्रबार सो विद्यालय अनुगमनको क्रममा विद्यार्थीहरुले भ्रमणको लागि रकम माग गरेको र आफूले विद्यालयका प्रधानाध्यापकसँग बुझ्दा २ लाख भए पुग्छ भनेको बताउँदै आफू त्यसमा सकारात्मक भएपनि आज एक्कासि तोडफोड गरिएकोमा आफु छक्क परेको बताए ।
तोडफोडपछिको अवस्था अहिले सामान्य हुँदै गएको र सो स्थान वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।