रौतहट , १३ असोज //
मधेश प्रदेशमा ८ हजार ९४४ वटा सवारी दुर्घटना हुँदा ६३ जनाले आफ्नो ज्यान गुमाएका छन् ।
प्रदेशको विभिन्न जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिकागरी ६३ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
यस्तै, सो दुर्घटनाहरुमा परेर १ हजार ४९९ जना घाइते भएका हुन् । घाइते हुनेमा १ हजार २ जना पुरुष रहेका छन् भने २७४ महिला र २२३ जना बालबालिका रहेका छन् ।
प्रहरीले यस अवधिमा ४७ हजार ९६ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ३५ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा मधेश प्रदेश प्रहरीले १७ करोड ३९ लाख २ हजार ७४७ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
प्रदेशको विभिन्न जिल्लाबाट १७ करोड भन्दा बढीको सामानसहित ५१ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
प्रहरीले ४ करोड २१ लाख बराबरको किराना सामान, ६ करोड ४७ लाख बराबरको सवारी साधन र पार्टपुर्जा नियन्त्रणमा लिएको छ । यस्तै कपडा, सुन चाँदी, विधुतिय सामाग्री लगायतका सामान बरामद गरिएको छ ।
यस्तै सोहि अवधिमा मधेश प्रदेशमा विपद्को घटनामा परेर ९७ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भएको विभिन्न ३ सय १८ वटा विपद्को घटनामा ४० बालबालिकासहित ९७ जनाको मृत्यु भएको हो।
प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले विपदको घटनामा परेर दुई महिनामा ४५ पुरुष, ४० बालबालिका र १२ जना महिलाको मृत्यु भएको जानकारी दिए ।
यस्तै सो विपद्को घटनामा परेर १६१ जना घाइते भएका छन् । घाइते हुनेमा ६६ जना पुरुष, ६४ जना महिला र ३१ जना बालबालिका रहेका छन् ।