रौतहट , २४ भदौ //
बच्चा चोर’ को हल्लामा कुनै सत्यता नरहेको रौतहट प्रहरीले जनाएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा रौतहटलगायत तराई मधेशमा भारतबाट आएका मानिसहरुको समूहले बच्चा चोर्ने गरेको र प्रहरीले उनीहरुलाई पक्राउ गरि कारवाही गरेको भन्ने खालका भिडियो तथा तस्विरहरु भाइरल भइरहेको छ ।
विशेषगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट देशका विभिन्न सहरहरुमा समुहनै बनाएर मानिसहरु आउने, कतिपय पुरुषहरु महिलाको भेषमा आउने बच्चाहरुलाई खानेकुरा दिएर फकाउने गरेको लगायत जानकारी सहित भिडियो, फोटोहरु पोष्ट गरिएका छन् । ती पोष्टहरु धेरै मात्रामा सेयर पनि भइरहेको छ ।
तर, रौतहट प्रहरीले भने ‘बच्चा चोर’ को बिगिबिगी केवल हल्ला मात्र भएको बताइरहेको छ । स्थानियले ‘बच्चा चोर’ को आरोपमा समातेर प्रहरीलाई बुझाएकाहरुको अनुसन्धान गर्दा त्यस्तो केही नपाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।