रौतहट , २१ भदौ //
कटहरिया नगरपालिका वडा नम्बर ८ को वडा भेला सम्पन्न भएको छ ।
मंगलवार पिप्रा पोखरियामा आर्थिक बर्ष २०७९/०८० का लागि वडा स्तरिय योजना तर्जुमा गर्दै भेला सम्पन्न भएको हो ।
वडा कार्यालयले वडा भेलाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि योजना छनौट भेला गरेको हो । वडा अध्यक्ष समिश विक्रम साहको अध्यक्षतामा आज समपन्न वडा भेलाले अगामी आर्थिक बर्षको लागि योजना छनौट गरेको हो ।
यस वर्ष कटहरिया नगरपालिकाले वडा नम्बर ८ मा १५ लाखको सिलिङ्ग छुट्टयाएको वडा सचिव जयराम साहले जानकारी दिए । त्यसै सिलिङ्ग अन्तर्गत वडाको योजनाहरु छनौट गरिएको वडा स्तरीय योजनाहरुमा विद्यालय भवन मर्मत सम्हार,नयाँ सडक निर्माण,सडक मर्मत लगायतका योजनाहरु रहेको उनले बताए।
भेलामा बोल्दै वडा अध्यक्ष साहले अबदेखि नयाँ ढङ्गले वडाका योजना छनोट गरी अगाडी बढनु पर्ने बताए । भेलामा बोल्ने स्थानीयहरुले योजना छनोट गर्दा सबैलाई समेट्ने गरी काम गर्नुपर्ने बताएका थिए ।
सहभागीहरुले आगामी दिनमा उक्त वडाको समग्र बिकासका लागि गर्नुपर्ने कामका बारेमा बिभिन्न सुझावहरु समेत दिएका थिए ।
भेलामा स्थानीय वडा सदस्यहरु अनिल कुमार यादव,रामसिंहासन पंडित कुम्हार,महिला वडा सदस्य शान्ति कुमारी,दलित महिला वडा सदस्य रेखा कुमारी राम,स्थानिय टैट राय यादव,विरेन्द्र साह,रामप्रसाद साह,सिकन्द्रि यादव जनप्रतिनिधी, विभिन्न राजनितिक प्रतिनिधी,स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।