वीरगंज , ९ साउन //
वीरगंजबाट ४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा १२ वर्षीय बालक, वीरगनञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने १९ वर्षीय जफ्रुदीन र वीरगञ्ज– महानगरपालिका वडा नम्बर १६ नगवा निवासी सलमान खान रहेका छन्।
शनिबार बिहान ७ बजे वीरगनञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित खाली जमिनको झाडीमा ४ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।
ती बालिका साउन ५ गते बेलुका ७ बजेदेखि हराएको भन्दै उनका हजुरबुवाले प्रहरीमा उजुरी दिएका थिए ।
बालिकाको शव फेला परेपछि अनुसन्धानको क्रममा एक १२ वर्षीय बालकको संलग्नता खुलेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए।
ती १२ वर्षीय बालकसँगको सोधपुछका क्रममा अन्य ३ जनाको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी निरिक्षक मल्लका अनुसार बालिकालाई सामूहिक रुपमा जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको अनुसन्धानमा खुलेको छ।
उक्त घटनामा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका व्यक्तिको पनि पहिचान खुलिसकेकाले प्रहरीले खोजतलास गरिरहेको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।
पक्राउ परेका आरोपितहरू विरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले बताए।