Friday, January 24, 2025

चन्द्रपुर नगरक्षेत्रका बजार अनुगमन

पछिल्लाे समाचार


रौतहट , ३२ असार //
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरक्षेत्रका बजार अनुगमन गरेको छ।

व्यवसायीले आफूखुशी मूल्य बढाई दैनिक उपभोग्य वस्तु बिक्री वितरण गरेको गुनासो बढेपछि शुक्रबार चन्द्रपुर नगरपालिका–५, ६ मा सञ्चालित किराना पसलहरुको अनुगमन गरिएको हो।

अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएको खाद्य सामग्री फेला परेको जनाइएको ।

चन्द्रनिगाहपुरमा सञ्चालित पसलहरूमा म्याद गुज्रिएका अखाद्य वस्तु बेचविखन भइरहेको गुनासो आएपछि बजार अनुगमन थालिएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख गणेश नेपालीले बताए।

अनुगमन गरिएका अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेको नेपालीले बताए। म्याद गुज्रिएका सामग्री नियन्त्रणमा लिइएको र फिर्ता हुने सामग्री तत्काल फिर्ता गर्न व्यवसायीलाई चेतावनी समेत दिइएको उनले बताए।

उनले उपभोक्तालाई कुनै सामग्री किन्दा उपयोग गरिसक्नुपर्ने म्याद छ कि छैन< त्यो हेरेर मात्र खरिद गर्न र यदि कुनै पसलमा त्यस्ता सामग्री फेला परे इलाका प्रशासन वा सरोकारवालालाई जानकारी दिन आग्रह गर्दै उपभोक्ता अधिकारका बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिएका छन्।

अनुगमनका क्रममा विशेषगरी बालबालिकाले अत्यधिक प्रयोग गर्ने चिजबल्स, चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, चकलेटको म्याद सकिएको पाइएको अनुगमन टोलीका संयोजक तथा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत मनीष झाले बताएका छन्।

यता बालबालिकाले मन पराएर खाने प्याकेजिङ खाद्य सामग्रीमा नै म्याद नभएको पाइएकाले यस्ता सामग्री प्रयोग गर्ने बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको चन्द्रपुर नगरपालिका—६ का वडाध्यक्ष सहदेव केसीको भनाइ छ।

बालबालिकाले पसलमा सामग्री किन्दा म्याद नहेर्ने भएकाले यस कुरामा अभिभावक, पसले एवम् सरोकारवाला निकाय एकदमै गम्भीर हुनुपर्ने देखिएको वडाध्यक्ष केसीले बताए।

यस्तै म्याद गुज्रिएका सामग्री बिक्री वितरण गरिएका तथा खाद्य सामग्री राख्ने स्टकरुम व्यवस्थित एवं सफा नराखेका एक व्यवसायीलाई ५ हजार जरिवाना गरिएको छ। चन्द्रपुर नगरपालिका–५ मा सञ्चालित चेरी इन्टरप्राइजेजलाई ५ हजार जरिवाना गरेको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नेपालीले बताए।

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएको अखाद्य वस्तु नष्ट गरिएको छ। शुक्रबार साँझ चन्द्रनिगाहपुरको चाँदीखोलामा अनुगमन टोलीले म्याद गुज्रिएको अखाद्य वस्तु नष्ट गरेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका उपाध्यक्ष किशोरप्रसाद उपाध्यायले जनाएका छन्।

बजार अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च रौतहटका उपाध्यक्ष किशोरप्रसाद उपाध्याय, चन्द्रपुर नगर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव सुनिलकुमार साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलङ्गवा सर्लाहीका प्रतिनिधि दिलबहादुर चौधरी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटा, सहायक प्रहरी निरीक्षक जोगेन्द्र चौधरी, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत मनीष झा, चन्द्रपुर–५ का वडा सदस्य मानबहादुर राणा मगर लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु