रौतहट ,३ असार //
चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सहदेव केसी ऐले आफ्नो वडामा रहेका राजकुलो तथा पैनीको खोजीमा निस्किएका छन् ।
उनले निर्वाचित भएर आए लगतै यस कार्यलाई अभियानकै रुपमा प्रमुख प्राथमिकतामा राखेर यस वर्षायामलाई आफ्नो वडालाई डुबान मुक्त पार्न लागि परेका छन् ।
वडा अध्यक्ष केसी आफै खटिएर स्काभेटर तथा डोजरको सहायताले नक्सा अनुसारको राजकुलो तथा पैनी कायम गर्न तथा अतिक्रमित संरचना हटाउन जुटेका हुन् ।
यसै अभियानको केही स्थानहरुमा पुरै मासिएको राजकुलो पुनः खनेको तथा साँधुरिएका, पुरिएका पैनीहरु सफा गरिरहेको उनले बताए ।
विशेष गरि वर्षाको पानीको निकासको लागि बनाइएका पैनीहरुलाई खुल्ला गरेर अन्तिम निकाससम्म पुर्याउन लागेको बताउँदै उनले सो क्रममा केही स्थानमा विवाद पनि आएको जनाए। उनले यो अभियानको क्रममा केही विवाद आइरहेका छन् तर सबैको सरसल्लाह र सहयोगमा काम गर्दै आइरहेको बताए ।
राजकुलो तथा पैनी हाम्रो सम्पति रहेकोले यसको संरक्षण सबै मिलेर गर्नु पर्ने उनले जनाए।
केसीले राजकुलो तथा पैनी मांसेर बनाइएका घर तथा संरचना समग्र कार्यपालिकाले निर्णय गरेर आवश्यक कदम चाल्ने र यसको लागि पनि भूमिका खेल्ने जानकारी दिए