पर्सा ,२६ जेठ //
बाराबाट वीरगञ्ज लग्ने क्रममा प्रहरीले करिब आठ सय लिटर घरेलु मदिरा बरामद गरी जफत गरेको छ ।
वीरगञ्जका साना होटलदेखि ग्रामिण क्षेत्रसम्म पुग्ने बारा जिल्लाको पथलैया र अमलेखगञ्ज क्षेत्रमा उत्पादित घरेलु मदिरा पर्सा प्रहरीले जफत गरेको हो ।
बुधबार बेलुकी अमलेगञ्जबाट जांदै गरेको ना २ ख ९३५७ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई छिपाई राखिएको अवस्थामा ७ सय ६५ लिटर अवैध घरेलु मदिरा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार मालवाहक ट्रकका चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई निवासी ५४ वर्षिय लक्ष्मण साहलाई पनि नियन्त्रणमा लिएको छ ।
बरामद मदिरा खन्याएर नष्ट गरिएको र चालक सहित ट्रकलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगञ्ज बुझाइएको डिएसपी खनालले बताए ।