रौतहट , १ असार //
रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठामा पानी निकासको विषयमा कुटपिट हुँदा एक महिलाको गर्भ तुहिएको छ ।
मंगलबार सरुअठा ४ का महम्द सदाम हुसेनको २५ वर्षीय श्रीमती रहाना खातुनलाई छिमेकीहरुले कुटपिट गरी गम्भीर घाइते बनाउदा उनको गर्भ तुहिएको हो ।
सदामको घरमा वर्षाको पानी जमेकोले सो को निकास सार्वजनिक बाटोमा गरेको भन्दै विवाद उत्पन्न भएको थियो ।
सदामकी श्रीमती रहाना खातुन घरमा एक्लै भएको बेला विवाद शुरु भएको थियो । छिमेकीहरु ईसराइल मिया, सैरा खातुन लगायतका समुहमा रहेका व्यक्तिहरुले गर्भवति रहाना खातुनलाई लछारपछार गर्दै कुटपिट गरेको पीडितले बताएकी छन्।
रहानालाई निर्घात कुटपिटका कारण गर्भमा रहेका बच्चा तुहिएको प्रादेशिक अस्पताल गौरले जनाएको छ । बासको लौरो र मुक्का प्रहारले उनको गर्भमा रहेका बच्चा खेर गएको अस्पतालले जनाएको छ ।
आफ्नी श्रीमती गम्भीर अवश्थामा रहेको र गर्भमा भएको बच्चाको समेत ज्यान जादा प्रहरी प्रशासनले ठोस कारवाहीका लागी कदम नचालेको पीडित पक्षको आरोप छ ।
सदामले घरमा एक्लै भएकी गर्भवति महिलालाई कुटेर गर्भ समेत तुहाइदिनेहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटले कारवाही गर्न चासो नदिएको बताए।
मुख्य आरोपहरु गाँउमा खुलेआमा घुमिरहेका छन, न्यायका लागी गुहार्दा प्रहरीले हाम्रो कुरानै सुन्दैन ।”सदामले भने
यता जिल्ला प्रहरी कार्यालय रौतहटले भने घटनामा संलग्न २ जनलाई पक्राउ गरि कानूनी कारवाही अगाडी बढाएको बताएको छ ।
घटनाका बारेमा पीडित पक्षबाट हिजो मात्र उजुरी दर्ता भएको र त्यो भन्दा अघि घटनामा संलग्न रहेका २ जनालाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा पीडितको उजुरीको आधारमा थप कानूनी कारवाहीका प्रक्रिया अगाडी बढाउने उनले जानकारी दिए।