महोत्तरी ,२९ जेठ //
महोत्तरीको जलेश्वर नगरपालिका ६ धबौलीमा बोक्सी आरोपमा दुई महिलामाथि कुटपिट भएको छ ।
जलेश्वर नगरपालिका ६ धबौलीकी ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीमाथि बोक्सी आरोपमा कुटपिट भएको हो ।स्थानीय रामु राम चमारकी श्रीमती सोमन देवी भन्ने सोमारी देवीसहितले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईका अनुसार भुतप्रेत लगाएको भन्दै बिहीबार बिहान साढे १० बजेको समयमा सोमनदेवी समेतले चुल्ठो समातेर, हात, लात्ती र लाठी समेतले कुटपिट गरी दुबैजनलाई घाइते बनाएको थियो ।
कुटपिटबाट घाइते भएकी कालो देवीको उपचार जनकपुर स्थित जानकी हेल्थकेयरमा भएर घर फर्केकी छन् ।
कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य केहि व्यक्तिहरु फरार रहेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीया सोमारी देवी र ४५ वर्षीय भुलन राम चमार रहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
पीडित कालो देवीको छोरा अमित महत्तो र दुलरिया देवीका नाती रामजीवन राम समेतले कुटपिटहरु गर्नेविरुद्ध दिएको जाहेरीको आधारमा दुबैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुबैजनामाथि “बोक्सीको आरोप लगाई कुटपिट गरि ज्यान मार्ने उधोग“ शिर्षकमा मुद्दा दर्ता गरि थप कुटपिटमा संलग्न रहेर फरार रहेका आरोपीहरुको खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।