रौतहट , २६ बैशाख //
नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चन्द्रपुरका नगर प्रमुखका उम्मेदवार बाबुराम दाहाले पार्टीको लागि भन्दा पनि विकासको लागि काम गर्ने बताएका छन्। उनले संविधानले परिभाषित गरेअनुसार स्थानीय तहलाई कार्यान्वयन गराउन आफ्नो उम्मेद्वारी दिएको जनाए।
दाहालले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको भूमिकालाई मिलाएर लान आफुले उम्मेद्वारी दिएको बताउंदै चन्द्रपुर नगरपालिकालाई समृद्ध बनाउन यहाँको स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्न आफु आएको जानकारी दिए।
उनले चन्द्रपुर नगरलाई समृद्व बनाउन तीन मुख्य योजनाहरु रहेको बताए।उम्मेदवार दाहालले अहिले यहाँ स्वास्थ्य अवस्था जटिल रहेको बताउंदै सरकारी अस्पतालको सेवा राम्रो नभएकोले त्यसको सेवा सुधार गर्ने ,६ महिनाभित्र विशेषज्ञसहितको अस्पताल बनाउने, क्षमतावान शिक्षक सरकारी विद्यालयमा नियुक्त गर्ने, चन्द्रपुरको परिवेशअनुसार भौतिक पूर्वाधारको विकास गर्ने आफ्नो योजना रहेको बताए।
उनले व्यवसायीलाई स्थानीय सरकारले सघाउन जरुरी रहेको बताउंदै आफुले चुनाव जिते दिनुपर्ने अनुदान दिने ,वडा नम्बर ५ मा भूमिगत सिंचाइको व्यवस्था गर्ने , सुकुम्बासीहरुको व्यवस्थापन गर्ने बताए।
उम्मेदवार दाहालले आगामी बैशाख ३० मा हुने स्थानिय चुनावमा आफुलाई एक चोटी काम गर्ने अवसर दिन अपिल समेत गरेका छन्। उनले समग्र नगर बिकासको लागि आफुलाई अत्याधिक मतले विजयी गराउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्।