सर्लाही , २६ बैशाख //
आसन्न स्थानिय चुनाव गराउन सर्लाहीको दुईवटा मतदान केन्द्रमा महिलाहरुलाई मात्रै जिम्मेवारी दिइएको छ ।
लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको नवजीवन माध्यमिक विद्यालयको ‘क’ र ‘ख’ मतदान केन्द्रमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन गराउन महिलाहरु मात्रै खटाइएको हो । विद्यालयको ‘क’ मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा जिल्ला प्रशासन कार्यालय मलङ्गवामा कार्यरत प्रशासकीय अधिकृत उर्मिला अधिकारीलाई खटाइएको छ ।
त्यहाँ सहायक मतदान अधिकृतमा सुनिता कुमारी मगर, सहायक कर्मचारीमा रमा खतिवडा, चन्द्रकला कुमारी र कार्यालय सहयोगीमा लेखमाया थापा रहेका छन् । त्यस्तै, जुटपानी माविकै ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा सर्लाही जिल्ला अदालत मलङ्गवामा कार्यरत प्रशासकीय अधिकृत मन्जु ज्ञवाली, सहायक मतदान अधिकृतमा निला कुमारी निरौला, सहायक कर्मचारीमा लक्ष्मी कोइराला, कविता खतिवडा र कार्यालय सहयोगीमा अन्जना कुमारीलाई खटाइएको छ ।
यि दुई मतदान केन्द्रमा प्रहरीहरु पनि महिलालाई मात्रै खटाउने तयारी रहेको छ । यस्तै, जिल्लामा एक दर्जन बढी मतदान केन्द्रमा महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
सर्लाहीमा ३ सय १८ वटा मतदानस्थल अन्तर्गतका ५ सय ९९ वटा मतदान केन्द्रमा खटिने कर्मचारीहरुको छनौट भइसकेको जनाइएको छ।