महोत्तरी ,५ जेठ //
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सकेर मतपरिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका छुटेको छ । निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको जानकारी दिइन् ।
बर्दिबास ८ अन्तर्गत बेलगाछी- ६ को २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्काे बाकस अर्कै वडाकोमा फेला परेको उनले बताइन् ।मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै बाकसको खोजी नगरेकाले अन्य वडाका बाकससँग त्रुटिबस छुटेको तामाङले बताइन् ।
वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिने तथा छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।
निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा वडाध्यक्षमा विजयी भएको घोषणा गरिसकेको छ ।