सर्लाही , २४ चैत //
सर्लाहीमा पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा फेला परेको छ।
बिहीबार बिहान मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा फेला परेको हो।
आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर नफर्किएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानको क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेको थियो ।
जगदीशले बयानमा बालकको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
उनले बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा पठाइएको जनाए ।
दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।