रौतहट , २४ चैत //
अब साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
लगातार वृद्धि हुदै गएको पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले अगामी तीन महिना साताको दुई दिन सार्वजनिक बिदा हुने भएको हो ।
अर्थमन्त्रालयमा बसेको विज्ञ र सरोकारवालाहरुको बैठकले कम्तीमा तीन महिनाका लागि शनिबार र आइतबार बिदा दिन सरकारलाई प्रस्ताव गरेको हो ।
बैठकले आगामी तीन महिनाका लागि सरकारी र सार्वजनिक कार्यालयमा शनिबार र आइतबार बिदा दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । सो निर्णय आगामी नयाँ वर्ष वैशाखदेखि लागू हुने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बैठकले बिदाको दुई दिन अत्यावश्यकबाहेकका सरकारी साधन नचलाउने निर्णय गरेसँगै सरकारी सवारीसाधन चलाउन पास वितरण नगर्ने निर्णय समेत गरेको छ ।
अर्थ मन्त्रालयको बैठकले सरकारी निकायहरूको इन्धन खर्च २० प्रतिशतले घटाउने निर्णय गरेको छ ।
यता, नेपाल राष्ट्र बैंकले पनि इन्धन खपत ४० प्रतिशतले घटाउने निर्णय गरिसकेको र बैंकको व्यवस्थापनले सबै तहका कर्मचारीमा लागू हुने गरी इन्धन खपत ४० प्रतिशतले घटाउने निर्णय गरेको एक उच्च अधिकारीले जानकारी दिए ।