रौतहट ,२० चैत //
नेपाल कम्युनिष्ट पार्टी एमाले रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक सम्पन्न भएको छ ।
जिल्लाको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति भवनमा आइतबार एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथ ग्रहण पछि बसेको जिल्ला कमिटीको प्रथम विस्तारित बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।
जिल्लाका केही स्थानीय तहमा बाँकी रहेका वडा कमिटीहरुको गठन तथा एकतासहितको पुनर्गठन गर्ने बैठकले निर्णय गरेको छ । चैत्र २१ गते अर्थात भोलि एकैसाथ सम्पूर्ण वडाहरुको अधिवेशन तथा बैठक गर्ने निर्णय गरेको छ ।
त्यस्तै चैत्र २६ गतेभित्र बाँकी रहेका पालिका कमिटीहरुको एकता अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले चैत्र २६ गते सम्पूर्ण वडा कमिटीहरुको बैठक बसी वडाका उम्मेदवार तथा २८ गते नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको जिल्ला अध्यक्ष त्रिभुवन साहले बताएका छन ।
उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत गर्न नभए कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न बैठकले निर्देशन दिइएको छ ।
अगामि चैत्र ३० गते भित्र जनसंगठनहरुको वडादेखि जिल्लासम्मको कमिटी गठन गर्न सम्बन्धित जनसंगठनलाई निर्देशन दिएको छ ।
त्यसैगरी बैठकले निवेश यादवलाई सञ्चार तथा प्रचार प्रसार प्रमुखको जिम्मेवारी दिएको छ भने गौरस्थित जिल्ला कार्यालयको सचिवमा राजेश साह, गरुडास्थित कार्यालयमा विजय साह र अन्जनी साह तथा चन्द्रपुर कार्यालयमा प्रहलाद पौडेललाई जिम्मेवारी दिएको एमाले जिल्ला सचिव बालबिक्रम कार्कीले जानकारी दिएका छन ।
बैठकमा एमालेका केन्द्रिय सदस्य कुन्दन कुश्वाहा,प्रदेश उपाध्यक्ष आरती भण्डारी,जिल्ला ईन्चार्ज उपेन्द्र साह,प्रदेश सदस्य रामजी साह,सभासद अबुल कलाम आजाद लगायतले संबोधन गरेका थिए ।