सर्त्लाही , १५ बैशाख //
आगामी बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनका लागि बागमती नगरपालिकाका मेयर उम्मेद्वार भरत कुमार थापा र बलरा नगरपालिकाका मेयर उम्मेद्वार अभय कुमार सिंह विरुद्ध उजुरी परेको छ ।
बागमती नगरपालिकाका निवर्तमान मेयर थापा विरुद्ध प्रहरी कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खीलक राज पौडेलले उजुरी दिएका हुन् । उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र जिल्ला प्रशासन कार्यालयको पत्र प्रमाणको रुपमा प्रस्तुत गरिएको छ । कुमार पौडेल कार्बाही घटनामा मृतक पौडेलका बुबा खीलकले दिएको किटानी जाहेरीमा मेयर थापाको नाम समेत भएको र सर्बोच्च अदालतले समेत छानविन गर्न आदेश दिएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि पीडितले हुलाक मार्फत पठाउँदा समेत दर्ता नभएपछि सर्बोच्च अदालतमा रिट हालेका थिए ।
बागमतीका निर्वाचन अधिकृत विकाउ कुमार यादवले उजुरी उपर छानविन भईरहेको र विहिबार साँझसम्म निर्णय आउने जानकारी दिए । यसअघि स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयरमा जीतेका थापाले यो पटक पनि माओवादीबाटै मेयरमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै बलरा नगरपालिकाका मेयरको उम्मेद्वार अभय कुमार सिंह विरुद्ध पनि उजुरी परेको छ । जनमत पार्टीबाट मेयर पदका उम्मेद्वार संजय कुमार सिंहले मेयरका उम्मेद्वार अभय कुमार सिंह विरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने भन्दै उजुरी दिएका हुन् । महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन अनुसार ११ करोड ८० लाख १८ हजार रुपैंया बेरुजु देखिएको र ५ करोड ३६ लाख ८४ हजार रुपैंया भने असुल नै गर्नुपर्ने उल्लेख छ ।
बलराका निर्वाचन अधिकृत रंजित कुमार यादवले मेयर पदका उम्मेद्वार अभय कुमार सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध उजुरी परेको जानकारी दिए । विहिबार साँझसम्म उजुरी उपर छानविन गरी निर्णय गरिने उनले बताए ।
अभय कुमार सिंह यसअघिको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीको तर्फबाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । सिंहले यो पटक लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका छन् ।
सर्लाहीका विभिन्न स्थानीय तहमा गरी १७ वटा उजुरी परेको जनाइएको छ । सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका ७ जनाविरुद्ध उजुरी परेको छ । बागमती नगरपालिकामा ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको बलरामा दुईवटा तथा लालबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक÷एक वटा उजुरी दर्ता भएका छन् । ती उजुरीहरुमाथि आज (विहिबार) साँझसम्म छानबिन गरेर सकिने र दोषी प्रमाणित भए उम्मेदवारी रद्ध गरिने बताइएको छ ।